बाँकेमा भिटामिन ’ए’ खुवाउने कार्यक्रम अन्योलमा

सदरलाइन संवाददाता ६ बैशाख २०८०, बुधबार १३:२६
 

नेपालगञ्ज : बुधवारदेखि देशभर पाँच वर्षसम्मका बालबालिकाका लागि भिटामिन ’ए’ खुवाइँदै गरिएपनि बाँकेमा भने यो कार्यक्रम अन्योलमा परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ’ए’ खुवाउनका लागि राष्ट्रिय भिटामिन ’ए’ अभियान सञ्चालन गरेको छ ।

तर, लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ बाँकेमा आफैं भिटामिन ‘ए’ अभियान स्थगित गरेको हो । यसले गर्दा बाँकेका करिब ९० हजार बालबालिका भिटामिन ’ए’ खानबाट बञ्चित भएको नेपालगञ्ज उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक एबम् उपमहानगरका स्वास्थ्य महाशाखा निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले आठ वटै स्थानीय तहमा भिटामिन ’ए’ पठाइसकेको थियो । सम्बन्धित पालिकाले भिटामिन ’ए’ खुवाउन महिला स्वास्थ्य स्वयंसेविकालाई वितरण समेत गरिसकेका थिए । बाँकेमा ७ सय ८१ महिला स्वास्थ्य स्वयंसेविका छन् । बाँकेमा ८० हजार बढी भिटामिन ‘ए’ क्याप्सुल प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त भई पालिकाहरुमा वितरण भएको छ ।


स्वास्थ्य कार्यालय बाँकेले पनि नहेरी वितरण गरेर गम्भीर लापर्वाही गरेको छ । ८० हजार बढी क्याप्सुल वितरण गर्दा पनि एकपटक भिटामिन क्याप्सुलबारे अध्ययन र अनुगमन नगरी वितरण गर्नु ठूलो लापर्वाही हो । क्याप्सुलको प्रयोग मिति समेत निकै कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यसमा स्वास्थ्य कार्यालय मुकदर्शक बनेको देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्य कार्यालयलाई भिटामिन ’ए’ अभियान स्थगित गर्न परिपत्र आएपनि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई जानकारी नगराएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभियान स्थगित गरिएको सम्बन्धमा सामाजिक सञ्जालबाट जानकारी पाएपनि स्वास्थ्य कार्यालयले कुनै परिपत्र वा मौखिक जानकारी नगराएको बताएको छ । निमित्त प्रमुख बस्नेतले यसबारे स्वास्थ्य कार्यालयले कुनै जानकारी नगराए पनि प्रदेश स्वास्थ्य निर्देशनालयको परिपत्रका आधारमा भिटामिन ’ए’ नखुवाइएको बताए ।

भिटामिन ’ए’ को क्याप्सुलको रंग परिवर्तन भएको रिपोर्टिङ स्थानीय तहले गरेकाले तत्काल वितरण नगर्न रोक लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य आपूर्ति केन्द्रको गम्भीर लापर्वाहीका कारण बाँकेमा राष्ट्रिय भिटामिन ’ए’ अभियान प्रभावित भएको हो । ‘समयमै भिटामिन ए क्याप्सुल गुणस्तरहीन भएको जानकारी प्राप्त भएकाले एउटा दुर्घटना टर्यो,’ एक जना स्वास्थ्यकर्मी भन्छन्–‘गुणस्तरहीन भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदा बालबालिकाको स्वास्थ्यमा अर्को समस्या पर्न सक्थ्यो । धन्न् जोगियो ।’

बाँकेमा पनि बुधवार र बिहीवार खुवाइने राष्ट्रिय भिटामिन ‘ए’ अभियानको तयारी पूरा भइसकेको थियो । स्वास्थ्य कार्यालयले स्वयंसेविकाको हातहातमा पारेको भिटामिन ‘ए’ क्याप्सुल फिर्ता गर्न आन्तरिक सर्कुलर जारी गरेको छ । आपूर्ति केन्द्रको गम्भीर लापर्वाहीले अभियानका लागि गरिएको तयारी विफल भएको छ भने अर्कोतर्फ राज्यलाई अनावश्यक आर्थिक व्ययभार थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत १ बाट निर्वाचित तीनै जना मन्त्री

६ बैशाख २०८०, बुधबार १३:२६
सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित तीनै जना सांसद मन्त्री भएका छन् । प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभातर्फ २ क्षेत्र रहेको सो ठाँउबाट तीनै जना मन्त्री भएका हुन् । प्रतिनिधीसभा तर्फ विजयी भएका कांग्रेस उपसभापति समेत रहेका पूर्ण बहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षा तथा कानुन मन्त्री भएका छन् […]

सम्बन्धित