प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविर सम्पन्न

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार १४:३३
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–१२ आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा २ सय २८ जना महिलाले सेवा लिएका छन् ।

स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा सहजता ल्याउने उद्देश्यका साथ कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले शिविर आयोजना गरेको हो । शिविरमा सेवा लिएकामध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई रिफर गरिएको शाखाका नर्सिङ फोकल पर्सन लोकमाया भारतीले जानकारी दिइन् ।

उनका अनुसार अन्य २ जना महिलाको वायोस्पी गरिएको छ । १ सय २७ जना महिलामा सेतो पानी वग्नेलगायतको समस्या देखिएकाले औषधि दिएर पठाइएको पनि भारतीले बताइन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच र उपचार, स्तन क्यान्सर, आङखस्ने समस्या, बाँझोपन र दिसापिसाब चुहिरहने रोगको चेकजाँच तथा उपचार सेवा प्रवाह गरिएको थियो ।

सम्भव हुने केशमा प्रारम्भिक उपचार शिविरमै गरिएको र जटिल खालको समस्या देखिएकालाई शल्यक्रियाका लागि रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए । शिविरको कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी र मेडिकल कलेज कोहलपुरमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दुर्गा बिसीले हिमा कुमारी पुनलाई पर्चा हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सुवेदीले अस्पतालका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन घरदैलोमा शिविर गरिएको बताइन् । कोहलपुर नगरपालिका भएपनि आफुहरुले नगरभित्रका दुर्गम वडाका महिलाहरुको स्वास्थ्यमा पहुँच स्थापित गर्नका निमित्त शिविर आयोजना गरिएको जानकारी दिइन् ।


कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताइन् । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकले कुनै पनि महिलाहरु रोग लुकाएर पीडादायिक जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको भन्दै महिलामा जटिल समस्याको रुपमा रहेको पाठेघर, स्तन क्यान्सरजस्ता रोगको समयमै पहिचान गरि उपचारमा सहजता ल्याउन शिविरले ठूलो भूमिका निर्वाह गर्ने बताए ।

उनले पाठेघरमा आउने समस्याको सहि समयमा पहिचान नभए यसको विकसितरुपनै क्यान्सर भएकाले घरदैलोमा हुने शिविरको लाभ लिन आग्रह समेत गरे ।

यस्तै वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले उपचारको पहुँच भन्दा बाहिर रहेका महिलाहरुले आफ्नै घरआँगनमा सेवा पाउनु ठूलो उपलब्धी भएको बताउनुभयो । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दुर्गा विसीले यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने बताए ।

उनले उपचार भन्दा पनि रोकथामको पहल गर्न पालिकालाई आग्रह गरे । उनले त्यसका लागि उपचारमुलक कार्यक्रम भन्दा जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै

२५ चैत्र २०७९, शनिबार १४:३३
नेपालगञ्ज : गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ । लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन ६ वटा सोलार विद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न लागिएको सो समूहले जनाएको छ […]

सम्बन्धित