अवैध कुखुराको आयातप्रति बाँके प्रहरीको कडाइ

सदरलाइन संवाददाता ४ चैत्र २०७९, शनिबार १४:०८
 

नेपालगञ्ज : भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।

कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा कडाइ गर्दा ठूलो परिमाणमा अवैध कुखुरा बरामद हुन थालेका छन् ।

सो क्रममा भारतबाट अवैध तरिकाले भित्र्याएर नेपालगञ्ज १० शीतल नगरमा लुकाई राखेको एक लाख ५० हजार भन्दा बढी मूल्यको २१९ ओटा कुखुरालाई बाँके प्रहरीले बरामद गर्न सफल भएको छ । सोही प्रकारले अन्य स्थानबाट पनि कुखुरा नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

बाँकेका कुखुरापालक किसान र व्यवसायीको चर्को विरोध लगत्तै प्रहरीले सुरु गरेको सर्च अप्रेसनको क्रममा ती कुखुरा बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।

उनले सर्च अप्रेसन निरन्तर जारी रहेकाले अझै धेरै परिमाणमा त्यस्ता कुखुरा नियन्त्रणमा लिइने दाबी गरे । बरामद गरिएका कुखुरालाई पशु क्वारेनटाइनको जिम्मामा लगाइएको र सो कार्यालयले ती सबै कुखुरा नष्ट गरेको जानकारी आएको बताए ।

कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि एसपी राठौरले बताए ।


नेपालगञ्जमा प्रतिबन्धित कुखुरा विक्री गर्ने पसललाई पनि कारबाही गर्न थालिएको जनाउँदै सो क्रममा गणेशमान चोकस्थित नेपाल फ्रेस हाउसलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

हरेक मासु व्यवसायीको पसलबाट बिल मागिने जनाउँदै बिल दिन नसक्नेलाई कारबाही गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताए ।

भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ ।

सो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कुखुरा व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले बताए ।

उनले विभिन्न नाकामा खटिने प्रहरीकै मिलेमतोमा निरन्तर भारतबाट भित्रिने अवैध कुखुराका कारण नेपाली किसान र व्यवसायी पीडित बनेको पनि दुःखेसो गरे ।

जमुनाहा, साईगाउँ र नरैनापुर क्षेत्रबाट दैनिक ठूलो मात्रामा भारतबाट अवैध कुखुरा नेपालमा आउने गरेको किसानको गुनासो छ । पटक पटक व्यवसायीले आफैँ गएर अवैध कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउँदा पनि कारबाही नभएको अधिकांश व्यवसायी र किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिम सरकारले ५ जना खेलाडीलाई सम्मान गर्ने

४ चैत्र २०७९, शनिबार १४:०८
धनगढी : आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो । विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूर्ण जित हासिल गरेको थियो ।नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा […]