देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्छ : मन्त्री खान

सदरलाइन संवाददाता ४ चैत्र २०७९, शनिबार १३:४५
 

नेपालगञ्ज : खानेपानी मन्त्री अब्दुल खानले देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने बताएका छन् । जनमत पार्टी नगर कमिटीले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने धारणा राखे ।

‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा बाहिरका देशमा पुर्याउन सकिने र देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले जोड दिए । उनले भने, ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसकेपनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ ।’

जनतालाई स्वच्छ खानेपानी पुर्याउने आफ्नो नैतिक जिम्मेवारी रहेको खानले बताए । नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संबिधानमै ब्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रुपमा काम गरिरहेको दाबी गरे ।

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संबिधानमा ब्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालय अन्तगतका निकायले जनतालाई कुनैपनि अप्ठ्यारो नपारी, राजनीतिकरण नगरी घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु कर्तब्य भएको बताए ।


आफु एक÷डेढ वर्ष मात्रै मन्त्रालयमा बस्न पाएमा काठमाडौं उपत्यकामा पानीको अभाव अन्त्य गर्ने दाबी गरे । यस्तै दुईदेखि तीन वर्ष बस्न पाएमा तराई मधेसका सम्पूर्ण जिल्लामा आर्सिनिक न्युनिकरण गरेर स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताए । उनले भने, ‘यदी म मन्त्रालयमा चार वर्ष बस्न पाए भने पहाड र हिमालका जनतालाई म स्वच्छ पानी पुर्याउँछु, यदी म मन्त्रालयमा पाँच वर्ष बस्न पाए भने देशको पानी विदेशमा निर्यात गर्ने मेरो योजना छ ।’

यसका लागि विभिन्न निकाय, अन्र्तराष्ट्रिय स्तरका दातृ संस्थासँग एक चरणमा परामर्श गरिसकेको बताए । सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी जनताको घर–घरमा पुर्याउने अन्र्तराष्ट्रिय स्तरमा गरेको हस्ताक्षर अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

पत्रकार भेटघाटका क्रममा जनमत पार्टीका युवा नेता तेजनारायण कँडेल, जनमत पार्टीका नगर अध्यक्ष शुभम गुप्ता, महिला संगठनका अध्यक्ष रेखा झा, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुनाखर भुसाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलविन्दु रोकथामका लागि नेपालगञ्जमा सचेतनामुलक प्रभातफेरी

४ चैत्र २०७९, शनिबार १३:४५
नेपालगञ्ज : विश्व जलविन्दु सप्ताह अन्तर्गत शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ । भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. प्रचाण्ड गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्देश्यले प्रभात फेरीको आयोजना गरिएको बताए । विपी चोकस्थित भिजन आँखा अस्पतालबाट शुरु भएको प्रभात फेरी गणेशमान चोक, […]

सम्बन्धित