नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ । मासिक तलव, कोभिड भत्तालगायतका माग राखेर एक हप्तादेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा थिए ।
अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता अनुसार बैशाख महिनाको तलव यही साउन १० गतेभित्र भुक्तानी गर्न अस्पताल प्रशासन सहमत भएको छ ।
यस्तै जेठ महिनाको तलव साउन २० गतेभित्र र असार महिनाको तलव भदौ पहिलो साताभित्र भुक्तानी गर्न अस्पतालले प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन रोकिएको आन्दोलनरत कर्मचारी मुनिर खाँले जानकारी दिए ।
यस्तै वीमा, खाजा भत्ता, ओभरटाइम, सामाजिक सुरक्षा वाफतको रकम भने साउन मसान्तभित्र टुङ्ग्याउने सहमति भएको अस्पतालका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए ।