धनगढीमा सभागृह बन्यो, अझै प्रयोगमा आएन

सदरलाइन संवाददाता १३ फाल्गुन २०७९, शनिबार १३:३४
 

धनगढी : कैलालीको धनगढीमा ठूलो लगानीमा बनेको सभागृह (सिटी हल) अझै सञ्चालनमा आउन सकेको छैन । गत असारमै निर्माण कार्य सम्पन्न भए पनि थप व्यवस्थापनको काम अगाडि नबढ्दा हल सञ्चालनमा आउन नसकेको हो ।

सङ्घीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सिटी हल निर्माण गरिएको छ । ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ सिटी हल बनाइएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत सिटी हल निर्माणको कार्य सम्पन्न गरिएको छ ।

यसमा ९६० जना अटाउने गरी दुई वटा हल बनाइएको छ । ठूलो हलमा ६०० र सानो हलमा ३६० जना अटाउने निर्माण कम्पनी बीकेवाई एमके जेभीले जनाएको छ । यसैगरी, सय/डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा बनेको छ ।

सिटी हलको काम असारमै सकिएर हस्तान्तरण गरिसकेको निर्माण व्यवसायी प्रकाश सेठीले बताए । ‘हामीलाई ठेक्कामार्फत मिलेको संरचना निर्माणको जिम्मेवारी हामीले पूरा गरेर हस्तान्तरण गरिसकेका छौं’, उनले भने,‘तर, हल प्रयोगमा आएको आइसकेको छैन ।’

हलमा अझै साउण्ड सिस्टम जडान गर्न बाँकी रहेको छ । ‘साउण्ड सिस्टम जडानको जिम्मेवारी हाम्रो थिएन’, सेठीले भने,‘त्यो अर्को फेजमा हुनेछ । हाम्रो जिम्मेवारी भौतिक संरचना निर्माण गर्ने थियो । त्यो पूरा गरिसकेका छौं ।’ उनले सबै एसी धान्न विद्युत भोल्टेज नपुग्ने भएकाले ठूला जेनेरेटर पनि आवश्यक रहेको बताए । प्रयोगमा अझै नआएको हलको रेखदेखका लागि एक जना चौकीदार राखिएको छ ।


प्रदेशकै महत्वपूर्ण योजनाको रुपमा रहेको सिटी हल सम्भवतः धनगढी उपमहानगरपालिकाको कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ । तर, निर्माण कार्य पूरा भए पनि हस्तान्तरण गर्ने कार्य नभएको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बताए । ‘हस्तान्तरण हुन नसकेका कारण सञ्चालनमा नआएको हो’, उनले भने,‘अहिलेसम्म नगरपालिकालाई हस्तान्तरण नै भएको छैन ।’

धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी उपसचिव नरेन्द्रबहादुर खातीले पनि सिटी हल हस्तान्तरण भए/नभएको विषयमा जानकारी नभएको बताए । २०७६ माघमा सिटी हल निर्माणको ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीका कारण तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि चैतसम्मको म्याद थप गरिएको थियो । निर्माण कार्य लगभग पूरा भएपछि स्थानीय तहको निर्वाचन अगाडि नै हस्तान्तरणको तयारी गरिए पनि निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो ।

राष्ट्रिय स्टान्डार्डको यो सिटी हल बनेमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरको जुनसुकै ठूला सभा, सम्मेलन गर्न समस्या नहुने पूर्व वडा अध्यक्ष नारायण बरालले बताए । ‘यो सिटी हल सङ्घीय राजधानीको राष्ट्रिय सभा गृह जस्तै हो’, उनले भने । ‘गौरवको यो योजनाले अब सुदूरपश्चिमलाई नै चिनाउनेछ ।’ सिटी हल निर्माण कार्य २०७९ वैशाखमै सकिने चरणमा रहेतापनि अहिलेसम्म के कति कारणले सञ्चालनमा आउन सकेन भन्दै उनले वडा र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

सिटी हलकै कारण धेरै जनाले रोजगारी पाउनुका साथै आसपासमा व्यापार, व्यवसाय पनि फष्टाउने बताइएको छ । धनगढीमा अहिले ठूलो सभागृह छैन । राष्ट्रिय वा प्रदेश स्तरीय ठूला कार्यक्रम आयोजना गर्नु परेमा विभिन्न प्यालेसमा कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा उत्साहजनक देखिएन हात्तीपाइलेविरुद्धको औषधि सेवन

१३ फाल्गुन २०७९, शनिबार १३:३४
नेपालगञ्ज : स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन । स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन । दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक […]