डायलासिस मेसिन प्रयोगविहीन

सदरलाइन संवाददाता ११ फाल्गुन २०७९, बिहीबार १३:५५
 

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका आठवटा डायलासिस मेसिनहरू विगत सात महिनादेखि प्रयोग विहीन अवस्थामा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरू आर्थिक अभावसँगै मेसिन राख्ने ठाउँ नहुँदा प्रयोग विहीन भएका हुन् ।

लामो समयसम्म डायलासिस मेसिनहरू प्रयोगमा नआउँदा बिरामीले दुःख पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन महिनामा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलासिस मेसिन’ पठाएको थियो ।

सो मेसिन आर्थिक, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण जडान हुन सकेका छैनन् । “मेसिनहरू सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण आर्थिक पक्ष हो, त्यसका साथै जनशक्ति र भौतिक पनि समस्या छ,” अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. ओम अर्यालले भने ।


बिरामीलाई सेवा दिनका लागि मेसिन जडान गर्ने भए पनि आर्थिक अभावका कारण जडान हुन सकेको छैन उनले थपे, मेसिन जडान गरी सेवा दिनका लागि अहिले कम्तीमा पनि ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सरकारले मेसिन दिने तर बजेट नदिँदा जडान गरेर सञ्चालन गर्न समस्या भएको उनले बताए । अहिले डायलासिसमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन् । मेसिन जडानपछि कम्तीमा ११ नर्सिङ कर्मचारी चाहिने अस्पतालले जनाएको छ ।

“अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण हुनसकेको छैन,” उनले भने, “भौतिक भवन पनि बनेको छ, त्यो हामीलाई आएको छैन, जसले गर्दा जनशक्तिसँगै ठाउँको समेत समस्या छ ।” उनका अनुसार मेसिन जडानका लागि पाइपलगायतका सामग्री खरिद गर्नुपर्ने हुन्छ । अस्पतालमा मेसिन जडान नहुँदा प्रादेशिक अस्पतालमा दिएका आठवटा डायलासिस मेसिनमध्ये तीनवटा मेसिन बाँकेस्थित भेरी अस्पतालमा पठाइएको छ ।

भेरी अस्पताल लगिएका मेसिन फिर्ता गर्ने सर्तमा दिइएको प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्यालले बताए । डायलासिस मेसिन जडान हुन नसक्दा मिर्गौला रोगका बिरामीहरू घोराही, लमही, बुटवल, नेपालगञ्जलगायतका स्थानमा डायलासिसका लागि जानुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वडा नम्बर ३ बाट ‘हात्तीपाइले औषधि सेवन अभियान’ शुरु

११ फाल्गुन २०७९, बिहीबार १३:५५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो । ‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने […]