नरैनापुर (बाँके) : करिब नौ महिना देखि हत्या आरोपमा मुद्दा दर्ता भई फरार अभियुक्तलाई प्रहरीले नेपालभारत सिमाक्षेत्रबाट फन्दमा लिन सफल भएको छ । बाँके नरैनापुर गाउँपालिका वडा नं.५ बस्ने रामपाल यादवलाई कूटपीट गर्दा मृत्यु भएको घटनामा संलग्न रही फरार रहँदै आएका सोही ठाउँ बस्ने २३ वर्षीय लालमणि यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमवार राती सिमा क्षेत्र नरैनापुर ५ हुलासपुरमा लुकीछिपी बसीरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरका इञ्चार्ज प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा गएको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो ।
गाईवस्तु चराउने कार्य गर्दै आएको मृतक रामपाल यादवलाई मुन्सी प्रसाद यादव, गोबरे राढ, लालमणि यादव, राज कुमार धोबी र शिवराज धोबीले कूटपीट गरि घाइते बनाएकोमा निज यादवको २०७९ जेष्ठ ३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
फरार थप अभियुक्तलाई खोजी कार्य तीब्र पारिएको इन्चार्ज सुनारले बताए । हामी निरन्तर खोजी कार्य गर्दै आएका छौं, उनले भने, भारतमा लुकीछिपी बसीरहेको सूचना रहेकोले उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको छ । मृतकको आमा मुनकी यादवले दायर गरेको जाहेरीमा छोरालाई रुखमा बाँधेर कूटपीट गरि हत्या गरिएको उल्लेख छ ।