बाँकेमा दादुरा महामारी नियन्त्रणतर्फ

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १४:५०
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।

नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले बताए ।

उनका अनुसार दादुरा सङ्क्रमण प्रभावित पाँचवटा पालिकाका एक लाख १५ हजार ५९९ बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ अभियान सुरु गरिएकोमा हालसम्म ९३ हजार १६१ जनालाई खोप लगाइसकिएको छ ।

प्रभावित पालिकाका अधिकांश बालबालिकाले खोप पाएपछि सङ्क्रमण नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार २८ हजार ४५६ जना बालबालिका मात्र खोप लगाउन बाँकी रहेकाले उनीहरूलाई खोप लगाउने काम भइरहेको छ ।


खोप अभियान अन्तर्गत सबैभन्दा बढी नेपालगञ्जका विभिन्न वडामा ४७ हजार ९२५, खजुरा गाउँपालिकामा १८ हजार ४१२, नरैनापुरमा १३ हजार १४० र डुडुवा गाउँपालिकामा ११ हजार २९६ र कोहलपुर नगरपालिकामा दुई हजार ३८८ जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका खोप फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा २९२ जना दादुराका बिरामी फेला परेकोमा २४० जना निको भैसकेका छन् । ५१ जनाको घरमै राखेर उपचार भइरहेको छ । एक जना बालकको भने मृत्यु भएको थियो ।

समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या बढ्दै गएपछि रोक्न सुरु गरिएको खोप अभियानले गर्दा हाल आएर दादुराका सङ्क्रमित भेटिनेक्रम रोकिएको जनाइएको छ ।

दादुरा महामारी नियन्त्रणका लागि खोप अभियानसँगै बिरामीको खोजी र सचेतना अभियान पनि स्वास्थ्य कार्यालयले तीव्र रूपमा सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको राजापुर क्षेत्रको विकासमा प्रदेश सरकारको विषेश चासो छ : मन्त्री केसी

१२ माघ २०७९, बिहीबार १४:५०
राजापुर (बर्दिया) :  बर्दियाको राजापुर क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताएकी छन । बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन । प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाको […]

सम्बन्धित