नेपालगञ्जमा ‘दादुरा महामारी’, जाँच–पड़ताल शुरु

सदरलाइन संवाददाता २१ पुष २०७९, बिहीबार १३:५०
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपालगञ्जमा गत पुष १८ गते एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएको थियो ।

वडा नम्बर ७ का एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएपछि समुदायस्तरमै दादुरा फैलिएको आशंकामा नेपालगञ्ज उपमहानगरपालिकाले जाँच–पड़ताल सुरु गरेको छ । प्रभावित क्षेत्रमा दादुरा रुवेलाका शंकास्पद विरामीहरुको जाँच, परीक्षण तथा व्यवस्थापन शिविर सुरु गरिएको हो ।
शिविरमा बालरोग विशेषज्ञहरुले जाँच गरेका थिए । कान्ति आरोग्य अस्पतालकी बालरोग विशेषज्ञ डा. रोमा बोरा, भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. विष्णु थापा र नेपालगञ्ज मेडिकल कलेजकी बालरोग विशेषज्ञ डा. निशा थापाले जाँच गरेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा दादुरा प्रकोपकै रुपमा फैलिएको देखिएको चन्दले बताए । बुधवार वडा नम्बर ५, ७ र ८ मा आयोजित शिविरमा ७० जनाको स्क्रिनिङ गरिएकोमा थप ८ जनामा दादुरा देखिएको छ । बुधवार मात्रै वडा नम्बर ५ का दादुरा संक्रमित अढाई बर्षीय बालकको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।


समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दको भनाई छ । खोप लगाएको÷नलगाएको एकिन गरेर दादुराको खोप लगाउने कार्यलाई अब अभियानकै रुपमा अघि बढाउने चन्दले बताए ।

दादुरा श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगञ्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताए । उनले दादुरा देखिएका वडामा १५ वर्ष मूनिका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको बताए । दादुराको महामारी देखिएपछि स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका, विश्व स्वास्थ्य स्वास्थ्य संगठन, युनिसेफ, वडा स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

२१ पुष २०७९, बिहीबार १३:५०
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ७ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान गरेका हुन् । ‘प्रदेशसभामा प्रतिनिधित्व […]