चालीस हजार राजस्व उठाउन पचास हजार खर्च

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १४:२७
 

हुम्ला : नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ ।

हिल्सामा रहेको भन्सार कार्यालय बन्द रहने गर्छ । सामान आयात निर्यात हुने अवस्थामा सदरमुकाम सिमकोटबाट कर्मचारी जाने गर्छन् । यसरी नियमित रूपमा भन्सार कार्यालय नखुल्ने भएकाले सामान आउने भएपछि मात्रै कर्मचारी सदरमुकामबाट हिल्सा जाने गरेका हुन् । यसो गर्दा आम्दानीभन्दा खर्च बढी बेहोर्नु परेको हो ।

हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले पुस १३ गते चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताए । उनले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी सामानको भन्सार महसुल ४० हजार रुपियाँ असुल भएको र आफू हिल्सा जाँदा आउँदा ५० हजार रुपियाँ यातायात खर्च भएको बताए ।


सिमकोटबाट हिल्सा पुुग्न एक दिन लाग्ने र एक दिनको भाडा जिप सञ्चालकले २५ हजार रुपियाँ लिने गरेका छन् । सामानको भन्सार असुली गर्न जाँदा आउँदा कर्मचारीका लागि यातायात खर्च ५० हजार रुपियाँ लागेको थियो ।

हिल्सा र सिमकोटका व्यापारीको पहलमा पुस १३ गते एक दिन चीनबाट खाद्यान्न, लत्ताकपडा, विकास निर्माणका सामग्री आएको थियो ।

प्रमुख जिल्ला अधिकरी सीता परियारले फाइदा मात्रै भन्दा पनि भन्सार महसुल उठाउने कुरामा राज्यको उपस्थिति महत्त्वपूर्ण भएको बताइन् । उनले कर्मचारी हिल्सा आउजाउ गर्ने खर्च भन्सार कार्यालयसँग नभएका कारण आफ्नो समन्वयमा गाडीको व्यवस्था गर्नुपरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी

१ माघ २०७९, आईतवार १४:२७
नेपालगञ्ज : कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी भएकी छन् । आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक […]