स्वास्थ्य केन्द्रमा छैन सिटामोल

सदरलाइन संवाददाता १३ पुष २०७९, बुधबार १४:१८
 

सुर्खेत : सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था सरकारको छ । यद्यपि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थामा ज्वरोको औषधिसमेत पाउन मुस्किल छ ।

चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत सधैँ अभाव हुन्छ । केन्द्रकी इन्चार्ज योगिता लामिछानेका अनुसार तीन÷चार महिनाको फरकमा एक पटक त्यही पनि न्यून मात्रामा औषधि आउँदा वितरणमा समस्या परेको थियो । स्वास्थ्य जाँचपछि निजी क्लिनिकमा औषधि किन्नु पर्ने बाध्यता रहेको जनाइएको छ । चौकुनेका अन्य वडामा रहेका स्वास्थ्य सेवा केन्द्रमा पनि औषधि र जनशक्तिको अभाव छ । वडा नं. ८ का अध्यक्ष धनीराम धमलाले निःशुल्क वितरण गर्नुपर्ने औषधि पर्याप्त नआएको बताए ।

उहाँले भन्नुभयो, “निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि समयमै उपलब्ध हुँदैन । अधिकांश बिरामीले अहिले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । स्वास्थ्य चौकी गुटुमा पनि औषधिको हाहाकार छ ।”


दैलेखको आठबीस नगरपालिका–९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्य औषधिको समेत अभाव छ । स्वास्थ्य केन्द्रका इन्चार्ज प्रशान्त सिजापतीले सेवाग्राहीको मागअनुसार सेवा दिन कठिन भइरहेको बताए । उनले भने, “अहिले पनि आइरन चक्कीको अभाव छ । कुनै बेला त औषधि नै हुँदैन ।” औषधि अभाव हुँदा सामान्य बिरामीलाई समेत प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । दैलेखको यो स्वास्थ्य केन्द्र प्रतिनिधि मात्र हो । अन्य सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव हुन्छ ।

चौकुने गाउँपालिका–५ मा रहेको आधारभूत स्वास्थ्य एकाइ केन्द्रमा औषधिको चरम अभाव छ । स्वास्थ्य एकाइ केन्द्रका इन्चार्ज देवीराम बीसीले निःशुल्क वितरण गर्नुपर्ने औषधि छिटफुट मात्र आउने गरेको बताए । सङ्घीय सरकार र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि पालिकामा रहेका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउँदै आएका छन् ।

पालिका आफैँले पनि बर्सेनि ठूलो रकम खर्चिएर औषधि खरिद गर्छन् तर स्वास्थ्य संस्थामा भने सधैँजसो निःशुल्क उपलब्ध हुनुपर्ने औषधिको अभाव भइरहन्छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले तीन तहका सरकारले छुट्टाछुट्टै औषधि खरिद गर्ने गरेको बताए । उनले भने, “कुन औषधि कुन तहको सरकारले किन्ने भन्ने हुन्छ, त्यसैगरी औषधि खरिद भइरहेको छ ।” अहिले दुई तहमा निःशुल्क औषधिको वितरण भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा

१३ पुष २०७९, बुधबार १४:१८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा बुधवारदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो । नगर प्रमुख प्रशान्त विष्टले बुधवार एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा […]

सम्बन्धित