नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन शुरु

सदरलाइन संवाददाता २८ मंसिर २०७९, बुधबार १३:४३
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन शुरु गरिएको छ ।

गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन शुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोलाहले बताए । उनले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताए ।

गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।


पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ अध्यक्ष शाहले भने नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाँउपालिकाले भत्काउँदै जानेछ ।’

गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताए । गाँउको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्येश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन शुरु गरिएको अध्यक्ष शाहले जिकिर गरे ।

अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ । उनले बाँकी रहेका अनाधिकृतरुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खरको छानामुक्त हुँदै खजुरा गाउँपालिका

२८ मंसिर २०७९, बुधबार १३:४३
खजुरा (बाँके) : बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यसभन्दा अघि यहाँका २३७ विपन्न परिवारका छाना फेरिएको छ । सङ्घीय सरकारको सहयोगबाट १८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न […]