खरको छानामुक्त हुँदै खजुरा गाउँपालिका

सदरलाइन संवाददाता २८ मंसिर २०७९, बुधबार १३:५०
 

खजुरा (बाँके) : बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

यसभन्दा अघि यहाँका २३७ विपन्न परिवारका छाना फेरिएको छ । सङ्घीय सरकारको सहयोगबाट १८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब १६० वटा घर खरको छानामुक्त गरिनेछ । उनले भने, ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ, र दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छौं अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजारसम्म सहयोग पाउने गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनका अनुसार टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो र अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्नेछ ।


अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौँ,’ उनले भने, ‘खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्, खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउनलाई यो अभियान सुरु गरेका हौँ, ।’

हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले भने । गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्न परिवार खुशी भएका छन् ।

खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनुपर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवार बताएका छन् । गाउँपालिकाले अहिले पालिकाभरि रहेका खरको छाना भएकाको तथ्याङ्क सङ्कलन पनि गरिरहेको छ । तथ्याकंका आधारमा सबै खरछानामुक्त गरिने योजना रहेको अध्यक्ष विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बिहीवार नेपथ्य सांगीतिक कार्यक्रम हुँदै

२८ मंसिर २०७९, बुधबार १३:५०
नेपालगञ्ज : नेपालगञ्जमा भोली नेपथ्य सांगितिक कार्यक्रम हुँदैछ । ’मानवता प्रबद्र्धन महाअभियान’को आयोजनामा बिहीवार अपरान्ह ४ बजे नेपालगञ्ज रंगशालामा नेपथ्य सांगीतिक कार्यक्रम हुन लागेको हो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रबद्र्धन लक्षित कार्यक्रमअन्तर्गत सांगीतिक कार्यक्रम गर्न लागिएको बताए । नेपालगञ्ज रंगशालामा बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

सम्बन्धित