जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु

सदरलाइन संवाददाता २७ मंसिर २०७९, मंगलवार १२:३२
 

नेपालगञ्ज : जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाका अनुसार उपचारका लागि लगिएका थप एक घाइते जयलाल अधिकारीको पनि बाटोमै मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–५ मा हिजो अपराह्न ४ बजे कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते तीन जनालाई उद्दार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो । घाइतेहरुको बाटोमै मृत्यु भएको डिएसपी निरौलाले बताए ।

दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिका–२ का ३५ वर्षीय चालक मानबहादुर बस्नेत, वडा नम्बर ३ का २८ वर्षीय वीरेन्द्र केसी, ३१ वर्षीय अम्मरबहादुर खड्का, जाजरकोटको छेडागाड नगरपालिका ६ का ३५ वर्षीय वीरबहादुर खत्री, वडा नम्बर ५ का ३३ वर्षीया जयकुवारा बुढा, ३२ वर्षीया नैनसरा अधिकारी, ३१ वर्षीय रामबहादुर बुढा, ३८ वर्षीय दीपक अधिकारी, उनकी छोरी ४ वर्षीया निशा अधिकारी, ३६ वर्षीया देवीसरा बुढा, ४२ वर्षीय अम्मर अधिकारी र ४८ वर्षीय जयलाल अधिकारीको मृत्यु भएको हो ।


४ वर्षीय निशासहित अम्मर अधिकारी र जयलाल अधिकारीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । अरु ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । छेडागाड नगरपालिका–४ स्थित खातीजेवामा भएको विवाहको लागि रिजर्भ गरिएको जीप भिरपाटीमा दुर्घटनामा परेको हो ।

विवाह भोजमा सहभागी एक जना जन्ती बिरामी परेपछि उनलाई उपचारका लागि नगर अस्पताल बडावनमा लैजाँदै गर्दा छेडागाड–४ र ५ मा पर्ने भिरबाटीमा उक्त जीप दुर्घटनामा परेको हो ।

वडा नम्बर ४ का अध्यक्ष गणेश थापाका अनुसार जीप खाली देखेपछि अरु मानिस पनि थलह बजारसम्म जाने भन्दै चढेका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जीप मध्यपहाडी लोकमार्गबाट करिब २ सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्कोद्धारा अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरण तालिम आयोजना

२७ मंसिर २०७९, मंगलवार १२:३२
नेपालगञ्ज : बाँके युनेस्को क्लबले आफ्ना कार्यसमितका पदाधिकारी र सदस्य लगायतका लागि अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत संस्थाको कार्यसमितिलाई अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणमा सहजता प्रदान गर्ने उद्देश्यले […]

सम्बन्धित