बाँकेमा मलको न्यून मौज्दात, अभाव हुने संकेत

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:४६
 

नेपालगञ्ज : बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाई मात्रै हो ।

बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए । पौडेलका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट १३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ ।

साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन शुरु गरेको पौडेलले बताए । हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको चरम अभाव हुने देखिएको छ ।


मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था रहेको छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

यसैबीच कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण शुरु गरेको छ । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ ।

बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डीएपी मलको माग छ । हालसम्म साल्ट ट्रेडिङमा ७०१ मेट्रिक टन मल आएको छ । तर, उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साल्ट ट्रेडिङमा हिउँदे सिजनका लागि १७५ मेट्रिक टन डीएपी मलको कोटा रहेकोमा हालसम्म ७७.८५ मेट्रिक टन मात्र आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

२५ मंसिर २०७९, आईतवार १४:४६
नेपालगञ्ज : खैरो हिरोइनसहित नेपालगञ्जबाट एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ नदैगाउँका २५ वर्षीय पप्पु रैदासलाई १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल आउँदै गरेका रैदासको शंकास्पद गतिविधि देखिएपछि जमुनाह प्रहरीले जाँच गरेको थियो । त्यसक्रममा ट्राउजरको बायाँ खल्तीमा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा […]