मेरो गठबन्धन यो क्षेत्रका सबै जनतासँग छ : इश्तियाक राई

सदरलाइन संवाददाता १९ कार्तिक २०७९, शनिबार १३:२८
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एकमात्रै चुनावी एजेण्डा भएको बताएका छन् ।

नेपालगञ्जको वडा नं २० मा भएको एउटा चुनावीसभामा बोल्दै त्यो एजेण्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास ।’ विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई अरू कुनै दीवासपना नदेखाउने उनले बताए ।

सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्दै भिडिरहेका उनले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए ।

‘यी सारा जनताको प्रेम, आशा र भरोसा नै मेरो लागि गठबन्धनभन्दा महान छ । म सधैं जनतासँगै छु र सधैं तपाईंहरूकै साथमा रहिरहनेछु’ उनले ‘कसले कुन पार्टीसँग गठबन्धन गरिरहेको छ त्यो कुराको मलाई कुनै चिन्ता छैन । किनकि मेरो गठबन्धन जनतासँग छ र जसको गठबन्धन जनतासँग हुन्छ उसले चुनाव हारेको इतिहास कतै छैन ।’

अहिले बाँके क्षेत्र नं २ मा माओवादीकेन्द्र, एकीकृत समाजवादी जनमोर्चाको गठबन्धनले नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र नेकपा एमालेले राप्रपाका उम्मेदवार धवल समशेर राणालाई समर्थन गरेको छ । २०७४ सालको निर्वाचनमा पनि उनी नेपाली कांग्रेस र राप्रपा तथा नेकपा एमालेका उम्मेदवारसँग एक्लै प्रतिष्पर्धा गरेर विजयी भएका थिए ।

‘अहिले पनि कुनै दलहरूको समर्थनमा होइन, तपाईंहरू तमाम मतदाताको साथ र भरोसाले उम्मेदवार भएको छु’ उनले भने ‘यो चुनावमा म एक्लै छैन। तपाईंहरूजस्तै मेरो साथमा हज्जारौं मतदाता छन् । तपाईंहरूको यतिधेरै प्रेम छ कि यो नै मेरो लागि सबैभन्दा ठूलो विजय हो ।’


करिब दुई साता लामो आक्रामक चुनावी घरदैलो अभियान सकेर जसपा क्षेत्र नं २ले चुनावी सभाहरू सुरु गरेको हो । निर्वाचन आयोगले बिहीबारदेखि मात्रै चुनावी आमसभाहरू गर्न अनुमति दिएको थियो । दोस्रो चरणको यो अभियान अब मौन अवधि सुरू हुनुभन्दा अघिसम्म चल्नेछ ।

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाल तथा समानुपातिक सांसदका उम्मेदवारलगायत नेता तथा कार्यकर्ताहरूका साथमा पुगेका प्रतिनिधिसभा उम्मेदवार राईले जनताका समस्या समाधान र विकासका मुद्दाबाहेक अरू कुरामा भ्रम छर्ने उम्मेदवारहरूलाई मंसिर ४ गते जवाफ दिन आग्रह गरे ।

‘अहिले आउने उम्मेदवारहरूलाई तपाईंहरूले प्रश्न सोध्नुस्, अहिलेसम्म तपाईंले अनि तपाईंका पार्टी र नेताहरूले यहाँका लागि के के गरे ? भनेर’उनले भने ‘अनि त्यसको जवाफ पनि आफै दिनुहोस् मंसिर ४ गते। त्यो दिन मतदातालाई दीवा सपनाहरू बाँड्नेलाई होइन, वास्तविकरूपमा काम गर्ने र विकास गरिरहेको उम्मेदवारलाई भोट दिनुहोस् ।’

उनले आफूलाई कमजोर पार्नका लागि विपक्षी उम्मेदवारहरूले मतदाताहरूमा धार्मिक र साम्प्रदायिक मुद्दाहरू भड्काउन थालेको भन्दै त्यसप्रति सचेत रहन पनि अपिल गरे ।

‘उहीहरूले तपाईंहरूलाई एकप्रकारको विष दिईरहेका छन् । यसले तपाईं हामीलाई मात्रै होइन सबैलाई सिध्याउनेछ’ उनले भने ‘हामीले केही भनेका छैनौं । मतदाता अब सचेत भइसकेका छन् । हामीले मात्रै विकासको नामा भोट दिनुस् भनिरहेका छौं । विकास कुनै धर्म वा सम्प्रदायको मात्रै होइन सारा नागरिकको अधिकार हो । हामी त्यही अधिकारको लागि लडिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

१९ कार्तिक २०७९, शनिबार १३:२८
नेपालगञ्ज : कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि […]