यमपञ्चक अर्थात तिहार शनिवारदेखि शुरु

सदरलाइन संवाददाता ५ कार्तिक २०७९, शनिबार १२:३०
 

नेपालगञ्ज : यमपञ्चक अर्थात तिहार शनिवारदेखि शुरु भएको छ । शनिवार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु भएपनि काग तिहार भने आइतवार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । समितिका अनुसार आइतवार बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।


कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । पर्सि ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

गाई पूजा ८ गते मङ्गलबार परेको छ । गोरु पूजा, हलितिहार, गोवर्द्धन पूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत ११४३ पनि बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।

यस वर्षको भाइटीका १० गते बिहीबार परेको छ । १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचारमा फड्को मार्दै खजुरा क्यान्सर अस्पताल

५ कार्तिक २०७९, शनिबार १२:३०
नेपालगञ्ज : बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिब अन्त्यजस्तै भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत […]