हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

सदरलाइन संवाददाता १५ आश्विन २०७९, शनिबार १३:५९
 

नेपालगञ्ज : हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र परेका छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाण्डौमै उडान केन्द्रित गरेपछि उनीहरूले टिकट नपाएर नेपालगञ्जमै अलपत्र परेका हुन् ।

अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका उनीहरु निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए । बिहीबार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गर्यो । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।


हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो गरे । उनले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताए । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ ।

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

१५ आश्विन २०७९, शनिबार १३:५९
सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ । स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो । आर्थिक वर्ष २०७७–७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य […]