अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न नवगठित सरकार बाधक बन्दैन  : अर्थमन्त्री पौडेल

सदरलाइन संवाददाता ३२ असार २०८१, सोमबार १८:५७
 

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न बाधक नबन्ने बताएका छन ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्दै उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने बताए ।

उनले भने–‘सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ ।’

संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

‘अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री पौडेलले भने,‘शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने चाहना छ ।’

अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गरेका छन । मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रुपमा तेस्रो र अर्थमन्त्रीका रुपमा चौँथो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य थिए । उनले संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति सभापति (२०७०) काम गरेका थिए ।


नवनियुक्त अर्थमन्त्री पौडेलले यसअघि विसं २०५३ मा युवा खेलकुद तथा संस्कृतिमन्त्री, विसं २०६५ मा जलस्रोतमन्त्री र विसं २०६७ मा रक्षामन्त्रीका रुपमा काम गरिसकेका छन ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले २०३५ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । उनले २०३७ सालमा तीन वर्ष जेल र तीन हजार जरिवाना सजाय गरिएकोमा ४५ दिनमा जेल विद्रोह गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय छन । उनी अहिले एमालेको उपाध्यक्षको जिम्मेवारी छन ।

अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माले) को सदस्य भएर विसं २०३५ असोजमा राजनीतिमा प्रवेश गरेका मन्त्री पौडेल विसं २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गरेका थिए ।

विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव, विसं २०४७ नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य र विसं २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गरिसकेका छन ।

विसं २०६५ मा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा एमालेको महासचिवको जिम्मेवारी लिएर उनले काम गरेका थिए ।

विसं २०१६ मङ्सिर १६ गते स्याङ्जामा जन्मिएका नवनियुक्त अर्थमन्त्री पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपालिका–८, रुपन्देही रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुक्त प्रधानमन्त्री दुई उपप्रधानमन्त्रीसहित १९ मन्त्रीद्वारा शपथ ग्रहण

३२ असार २०८१, सोमबार १८:५७
  काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नवनियुक्त प्रधानमन्त्री, दुई उपप्रधानमन्त्रीसहित १९ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यसपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन । नवनियुक्त प्रधानमन्त्री […]