नेपालगञ्ज : साउनको सोमवारे व्रत समापन हुने भएको छ । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको थियो ।
नेपालगञ्जको बागेश्वरी मन्दिर लगायत आसपासका शिव मन्दिरहरुमा श्रद्धालुहरुको बिहान घुइँचो लागेको थियो । यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो । अन्तिम सोमबार ब्राह्मणलाई गौदान, पूर्णपात्र, र सिदा दान गरेपछि व्रत पूरा भएको मानिन्छ । ज्योतिष शास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ ।
त्यसैले यो दिनको उहाँको आराधना गरिन्छ । पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ । यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उहाँ खुशी हुने र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।