सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा रहेको ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने सरकारले तयारी गरेपछि जग्गाधनीहरु आन्दोलित भएका छन् । सदियौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि जग्गाको भोगचलन गर्दै आएकाहरु बुधवारबाट नेपालगञ्जमा आन्दोलित भएका हुन् ।
उनीहरुले जग्गा भएको क्षेत्र करमोहना र इन्द्रपुर गाउँबाट बिरोध र्यालीसहित नेपालगञ्जको बीपी चोकसम्म प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले हचुवाका भरमा भोग गर्दै आएको व्यक्तिको जग्गाका बारेमा सत्यतथ्य जानेर मात्र निर्णय गर्न आग्रह गरेका छन् ।
सदियौंदेखि तिरो तिरिरहेको जग्गा कसरी गुठीको भयो, जग्गाधनी दिपक शाहले भने, हामीले यत्रो वर्षदेखि निरन्तर तिरो तिरिरहँदा अहिले आएर सरकारले कसरी हाम्रो जग्गा अरुको नाममा गर्न पाउँछ । सरकारले गरेको गलत निर्णय फिर्ता लिनुपर्छ शाहले भन्नुभयो नत्र हामी आन्दोलन गर्न बाध्य हुँन्छौं ।
खरिद गरेर वर्षौदेखि उपभोग गर्दै लालपुर्जा भएको जग्गाको सत्यतथ्य छानबीन हुनुपर्ने अब्दुल रसिद वागवानले माग गरे । जग्गा धनीहरुसंग भएको पुरानो कागजपत्र अध्ययन गर्न सरकारलाई आन्दोलनकर्ताले आग्रह गरेका छन् । हामी कुनै अपराधी हौइनौ, भूमाफिया पनि हौइनौं आन्दोलनकर्ताको प्रश्न थियो, कसरी हामी भुमाफिया भयौं । स्थानीय तुलाराम कुर्मीले १९३३ सालदेखि जग्गाको तिरो तिरिरहेको बताए । यो निर्णयले हामी जग्गाधनीहरु मारमा पर्ने भयौं उहाँले भन्नुभयो हामी सरकारप्रति लज्जास्पद छौं, वास्तविकता छानबीन गरेर मात्र सरकारले निर्णय गर्नुपर्छ ।
नेपालगञ्जको बीपी चोकमा १५ मिनेटसम्म जक्काजाम गरेका जग्गाधनीहरुले दैनिक आन्दोलन गर्ने बताएका छन् । उनीहरुले मालपोतमा धर्ना, जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेसम्मको कार्यक्रम रहेको बताएका छन् । गुठी जग्गा संरक्षण सम्बन्धि आयोगले व्यक्तिको नाममा रहेको मन्दिरको जग्गा फिर्ता गर्नुपर्ने सुझाव पेश गरेको छ ।