नेपालगञ्ज : साविकको कर्णाली अञ्चलका जिल्लामा सरकारले अनुदानमा नुन उपलब्ध गराउँदै आएको छ । तर आर्थिक वर्ष २०७८–७९ मा नेपालगञ्जबाट मुगु पुग्नुपर्ने २ हजार ७ सय क्विन्टल नुनमध्ये १ सय ५९ क्विन्टल नुन गायब भएको छ ।
ढुवानी जिम्मा पाएको कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन डिपो मुगुले नुन हराएको विषयमा एकअर्कालाई आरोप लगाउँदै आएका छन् । छायाँनाथ रारा एयर कार्गो ढुवानी र साल्ट ट्रेडिङ कर्पोरेशन डिपो मुगु बीच नेपालगञ्जबाट मुगुसम्म नुन ढुवानीका लागि सम्झौता भयो । तर आर्थिक वर्ष २०७८–७९ मा आइपुग्नुपर्ने २ हजार ७ सय क्विन्टलमध्ये १ सय ५९ क्विन्टल नुन नआइपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन डिपोका प्रमख खगेन्द्र कार्कीले दावी गरेका छन् ।
तर, ढुवानीको जिम्मा पाएको छायाँनाथ रारा एयर कार्गो ढुवानीले आफूले पूर्ण नुनको ढुवानी गरिसकेको दावी गर्छ । कार्गोका सम्पर्क व्यक्ति पुलिन्द्र बुढाले सम्झौताअनुसारनै नुन ढुवानी पूरा गरेको दावी गरे । कर्णालीमा अनुदानका लागि ढुवानी गर्दै आएको नुनमध्ये जिम्मेवारी पाएको फर्मले १ सय ५९ क्विन्टल नुन ढुवानी नै नभएको जिल्ला प्रशासन कार्यालय मुगुको भनाइ छ ।
ढुवानीको जिम्मा पाएको कम्पनीले नुनमा हिनामिना गरेको हुनसक्ने मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । कर्णालीका दुर्गम क्षेत्रका लागि राज्यले सहुलियतमा नुन दिँदै आएको छ ।
तर जनताका लागि भनेर सहुलियतमा आएको नुन कसरी र कहाँ हरायो भन्ने प्रश्न त उब्जिएको छ नै सँगै जनताका नाममा आउने नुनमा समेत भ्रष्टाचार हुने गरेको तथ्या खुलासा भएको छ ।