सदरलाइनडटकम,
कोहलपुर : ईलाका प्रहरी कार्यालय कोहलपुरले बाँके राष्ट्रिय निकुञ्जले खुलाएको टेण्डर च्यात्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
बुधबार मध्यान्न करिव १२ बजेतिर निकुञ्जभित्र दुई वटा पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको टेन्डरको दर्ता गर्ने क्रममा एक समुह निकुञ्ज भित्र पसेर टेण्डर फारम च्यातेको हो ।
बुधबार टेण्डर दर्ता गर्ने अन्तिम दिन रहेको थियो । सो क्रममा युवाहरुको एक समुहले दर्ता गर्न लागिएका टेण्डर च्यातेपछि विवाद भई टेण्डर प्रकृया नै रोकिएको निकुञ्जले जनाएको छ ।
५० लाखको दुई वटा पोष्ट भवन र १९ लाखको पर्खाल निर्माणका लागि टेण्डर खुलाईएकोमा ८ वटा टेण्डर दर्ता भए पनि अन्य टेण्डर च्यातिएपछि परेका सबै टेण्डर बदर गरी नियमानुसार गरिने बाँके राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।
निकुञ्ज कार्यालयले तोक लगाएका २ वटा र अन्य केही टेण्डर च्यातेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनले टेण्डर फारम च्यातेको आरोपमा प्रहरी नियन्त्रणमा परेका ७ जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर ल्याईएको बताए ।