नेपालगञ्ज : स्वास्थ्य कार्यालय बाँकेले बाँकेका आठवटै पालिकाका ८१ वटै वडामा यही असार २० गतेदेखि कोरोनाविरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ ।
१८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर सोमवार २० देखि २२ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको हो ।
यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार, हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्य भन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यस्तै दोस्रो डोज खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ८ सय ९२ जना रहेका छन् । खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेको उहाँको भनाइ छ । बुष्टर डोज लगाउनेको संख्या भने जिल्लामा निकै कम छन् ।
बुष्टर डोज लगाउनेको संख्या एक लाख ७ हजार ३ सय ६ रहेको छ । प्रतिशतका हिसावले यो २२ दशमलव ५ प्रतिशत हो । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् । यि पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् ।