नरैनापुर (बाँके) : सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन नरैनापुर गाउँपालिकाले गाउँपालिका भित्र रहेका सवै सामुदायिक विद्यालयलाई विद्यालय बस सहयोग गर्ने भएको छ ।
विद्यार्थीलाई घरबाट विद्यालयसम्म पुर्याउन प्रत्येक सामुदायिक विद्यालयलाई एक–एक वटा बस उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाहले बताए । दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिकाका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि गाउँपालिकाले सहयोग गर्ने घोषणा गरे ।
जय किसान माविमा क्याम्पस स्थापना गर्ने, गाउँपालिकाका विद्यालयमध्ये एसइई परीक्षामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने निर्णय भएको उनले बताए । ‘गाउँपालिकाको वडा नं. १ महतनियामा तीन करोड लागतमा मावि विद्यालय निर्माणको प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने ।
गाउँपालिकाको विद्युतीकरण हुन बाँकी रहेका वडामा विद्युत विस्तार गरी प्रत्येक वडाको चोकमा हाईमाष्ट लाइट जडान गर्ने उनले घोषणा गरेका छन् ।