नेपालगञ्ज : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधी सुरु हुने केही घण्टा अगाडि नेपालगञ्जमा एमालेले मेयर उपमेयरका उम्मेदवार, वडा अध्यक्ष, सदस्यका उम्मेदवार सहित शक्ति प्रदर्शन गरेको छ ।
मेयरका उम्मेदवार पशुपति दयाल मिश्र, उपमेयरका उम्मेदवार शान्ति ढकाललगायत विभिन्न वडाका वडा अध्यक्ष, सदस्यसहभागि भएको सो कार्यक्रम नेपालगञ्जको धम्बोझी चोकबाट सुरु भएर नगरका विभिन्न भागहरु परिक्रमा गरी बीपि चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सो कोण सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले समग्र नेपालगञ्जको विकासको लागि आफुलाई मौका दिनु पर्ने बताए ।
उनले भने–‘नेपालगञ्जको विकासको लागि गत निर्वाचनबाट मेयर उपमेयर फरक पार्टीबाट विजयी हुँदा विकासमा प्रभाव परेको छ । गठबन्धनले विकासमा भन्दा पनि आफ्नो बचस्र्वको लडाई हुने भएकोले विकास संभव छैन त्यसैले हामीलाई मौका दिनुहोस हामी समुन्नत र बिकासले युक्त नेपालगञ्ज बनाउने छौ ।’
उनले भाग बण्डामै रुमल्लीने विपक्षिले नेपालगञ्जको विकास गर्न नसक्ने ठोकुवा गर्दै आफ्नो टिमलाई विश्वास गरेर मतदान गर्न आव्हान गरे । सोही कार्यक्रममा उपमेयरका उम्मेदवार ढकालले दलिय स्वार्थको कारण महिलालाई पछाडि पार्दै भागबण्डाका पद लिनेहरुबाट विकास संभब नहुने ठोकुवा गरिन ।
उनले महिला शसक्तिकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै नेपालगञ्जको विकासको लागि आफ्नो टिमलाई विजयी बनाउन आग्रह गरिन । केन्द्रीय सदस्य हारुण हल्वाईले सहजिकरण गरेको कार्यकक्रममा केन्द्रीय सदस्य दिपा शर्मा, मुस्लिम अगुवा नेता करिम खान, व्यवासायी नेता कृष्णप्रसाद श्रेष्ठ लगायतले एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए ।