नेपालगञ्जलाई नमुना शहर बनाउँछु : मिश्र

सदरलाइन संवाददाता ६ बैशाख २०७९, मंगलवार १५:४७
 

नेपालगञ्ज : २०७४ सालको चुनावमा पशुपति दयाल मिश्र बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसद पदको उम्मेदवार थिए । हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा जोडिएर एमालेको सूर्य चूनाव चिन्हबाट चुनाव लडेका मिश्र संघीय सांसदमा पराजित भए । अहिले उनी नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । केही महिना अघि मात्रै एमालेमा प्रवेश गरेका यसपटक मिश्र मेयर पदमा पराजित हुन्न होला भन्ने विश्वास गर्छन् । यही बैशाख ९ गते चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारीमा जुटेका मिश्र एमालेका केन्द्रीय सदस्य हुन् । चुनावी प्रतिबद्धतापत्र घोषणाको तयारीमा जुट्नुभएका मिश्रसँग गरिएको संक्षिप्त कुराकानी ।

अघिल्लो पटक संघीय चुनाव लड्नु भएको थियो । अहिले मेयरमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ, किन ?
नेपालगञ्ज एकदमै पुरानो शहर हो । तर बुटवल, भैरहवा, वीरगञ्ज, विराटनगर र पोखराको विकास भएको छ, त्यसरी नेपालगञ्जको विकास हुन सकेको छैन । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख केन्द्र भएपनि नेतृत्वमा पुगेका नेताहरुबाट नेपालगञ्जको विकासका लागि प्रभावकारी कामहरु हुन सकेनन् । नेपालगञ्जलाई नमुना शहरका रुपमा विकास गर्नका लागि मेयरमा लड्ने योजना बनाएको हुँ ।

भौतिक र मानवीय सबै दृष्टिकोणले नेपालगञ्जको विकास गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । यहाँ भौतिक र मानवीय विकासलाई सँगै लैजाने सवालमा काम हुन सकेन । त्यसैले नेपालगञ्जको भौतिक र मानवीय विकास गर्न म उम्मेदवार बन्न लागेको हुँ ।


तपाईले जित्ने आधार के हो ?
एमालेप्रति अहिले जनलहरनै छ । अध्यक्ष केपी ओली नेपालगञ्ज आउँदा करिव पाँच हजार मानिसलाई पार्टी प्रवेश गराएका छौं । साथीहरू प्रत्येक वडामा मिहिनेतका साथ लाग्नु भएको छ, मजबुत संगठन छ । ओलीजी नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा राखेको अडानका कारण जुन छवि एमालेको बनेको छ, त्यसले पनि पार्टी प्रवेशको लहर नै चलेको छ । अर्को कुरा ओली जीको सरकारको पालामा बाँकेमा ठूला योजनाहरु भित्रिएका छन् । शहरी विकासका लागि ५० करोड विनियोजनदेखि फुसले छाएका घरहरु विस्थापित गर्ने योजना, नेपालगञ्जलाई अन्तर्राष्ट्रिय हवाइ उडानसँग जोड्ने यि धेरै योजनाहरु अघि बढेका छन् । र, कार्यान्वयनको गतिमा छन् । सिक्टा सिंचाइँ आयोजना बन्द थियो । उहाँ आएर त्यसको निरीक्षण गरेर रोकिएको काम तत्काल सञ्चालन गर्नुभयो । उहाँकै पालामा भेरी अस्पताललाई विशिष्टकृत अस्पताल घोषणा भयो ।

तपाईमाथि आरोप लाग्ने गर्छ, मधेश आन्दोलनका क्रममा तपाईले भारतीय भूमिमा बसेर नेपालतर्फ ढुँगा हान्नु भयो ?
जब–जब चुनाव आउँछ तब–तब बिरोधीले नियोजित रुपमा उचाल्ने मुद्दा हो–मधेश आन्दोलनमा सीमापारीबाट ढुङ्गा प्रहार । हिजो ढुङ्गा हान्ने र हान्न लगाउने अनेक थिए । तत्कालिन परिस्थिति भिन्नै थियो । त्यो परिस्थिति सधैं रहन्छ भन्ने होइन । म स्पष्ट के छु भने मधेश आन्दोलनमा सबैभन्दा बढी व्यवस्थित र अनुशासित आन्दोलन नेपालगञ्जकै थियो । त्यसको नेतृत्वमध्ये म पनि भएकाले मधेश आन्दोलनलाई सबैभन्दा व्यवस्थित बनाउन अहम भूमिका निर्वाह गरेको छु । चुनावका बेलामा यस्ता आरोप उचाल्नु राम्रो होइन् । नेपालगञ्जको विकास निर्माणमा मैले दुई दशकअघिदेखि नै भूमिका खेल्दै आएको छु ।

तपाईका चुनावी योजना के छन् ?
हा हा हा, सबै अहिले नै भन्दा सान्दर्भिक नहोला । किनभने चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छौं । शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार हाम्रो चुनावको मुख्य एजेण्डा हो । योभित्र धेरै विषयहरु समेटिएको छ । बैशाख ९ गतेपछि सबै योजनाहरु सार्वजनिक गर्छौ । हाम्रो मुख्य ध्येय भनेकै नेपालगञ्जलाई नमुना र विकसित शहर बनाउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा एक्लै परेको हिमाली गिद्ध नवलपरासीको जटायु रेष्टुरेन्टमा पठाइयो

६ बैशाख २०७९, मंगलवार १५:४७
सुर्खेत : समूहबाट छुटेर सुर्खेतमा एक्लिएको हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ। उक्त गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टलाई जिम्मा लगाइएको हो। साढे २ महिनाअघि समूहबाट छुटेको यो हिमाली गिद्धलाई सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा राखिएको थियो। जंगलमा राखिएको गिद्धको स्याहार भने स्थानीय नवराज बोहोराको अगुवाइमा केही युवा तथा […]

सम्बन्धित