चुरे क्षेत्रमा बाघ संरक्षण नारासहित बाँके बर्दियामा होमस्टे सञ्चालन

सदरलाइन संवाददाता २६ माघ २०७८, बुधबार १८:५९
 

चुरे क्षेत्रमा बाघ संरक्षण नारासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा एकै पटक २१ वटा होमस्टे सञ्चालन गर्न लागिएको छ । स्थानीयवासीको आय–आर्जनमा सहयोग पुर्‍याउँदै उनीहरूलाई वन र वन्यजन्तु संरक्षणमा जोड्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा होमस्टे सञ्चालन गर्न लागिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रको हर्रेकाँडा हुँदै बाँके निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र र भावर क्षेत्रको राप्तिसोनारी मध्यवर्ती क्षेत्र अन्तर्गत गावरसम्म गरी झन्डै तीन घण्टाको पैदल दुरीमा २१ वटा होमस्टे सञ्चालन गर्न लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।


होमस्टे व्यवस्थापन सञ्चालन गर्नुअघि होमस्टे सञ्चालन सम्बन्धी तरिका र नियमहरूको बारेमा जानकारी दिने उद्देश्य सहित होमस्टे सञ्चालन गर्न छनोट भएका २१ जना स्थानीयवासीलाई तीन दिने तालिम समेत दिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने कर्णाली चिसापानीदेखि बाँके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्र फुर्केसल्ली मलई, दाङसम्म झन्डै सात दिनको पदमार्गको समेत प्रारम्भिक सर्वेक्षण सुरु भइसकेको कडरियाले बताए ।

निकुञ्जको उत्तरी क्षेत्रका स्थानीयवासीले खेतबारीमा आएका जङ्गली जनावर भरुवा भन्दुकको प्रयोगबाट मारेर खाने तथा बेचबिखन गर्ने परम्परागत चलन थियो । बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, संरक्षण अभियानमा लागेका सङ्घ–संस्था र संरक्षणकर्मीले संरक्षण अभियान सुरु गरेपछि झन्डै ११ वर्षअघि उत्तरी क्षेत्रका स्थानीयवासीले झन्डै दुई सय ५० थान भरुवा बन्दुक निकुञ्जमा बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बि–ग्रुपद्वारा स्वास्थ्य सामाग्री हस्तान्त्रण

२६ माघ २०७८, बुधबार १८:५९
नेपालगञ्ज :  कोरोना संक्रमण रोकथामका लागि आवश्यक पर्ने विभिन्न प्रकारका स्वास्थ्य सामाग्री भेरी बाताबरणीय विशिष्ठता समूह बि–ग्रुपले जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई उपलब्ध गराएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा जिल्ला विपद व्यवस्थापन समिति बाँकेलाई कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजना अन्तरगत भिटिएम २५० थान, सिमा क्षेत्रबाट […]