नेपालगञ्ज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।
यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।
बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको उनले बताए ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।