कैलालीको जंगलमा बिभत्स अवस्थामा युवकको शव फेला

सदरलाइन संवाददाता ४ पुष २०७८, आईतवार १९:१६
 


कैलाली :  कैलालीको जंगलमा एक जना युवकको शव विभत्स अवस्थामा फेला परेको छ । शनिबार दिउँसो जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अरूण दास मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी बिहान ८ बजेतिर घरबाट निस्केका थिए । दिउँसो मृत फेला परेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको थियो ।

घटना कसरी बाहिर आयो ?
कैलालीको जानकी गाउँपालिका–९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे । रातभरिमा उनी घर फर्किएनन् । शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन् । अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन ।

दिउँसोतिर उनको मोबाइलमा एउटा अडियो रेकर्ड आयो । त्यसमा केही केटाहरू बोलेको सुनिन्छ ।
‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन् ।

उक्त अडियोमा केही केटाहरूले कसैलाई फोन घटनाबारे सुनाएको देखिन्छ । दासकी श्रीमती उक्त अडियो सुनेपछि त्यही लिएर इलाका प्रहरी कार्यालय लम्की गइन् । एकजना प्रहरी अधिकृतका अनुसार उनी डराएर आएकी थिइन् ।

‘लोग्ने घरमा हिजोदेखि छैन, यस्तो अडियो मलाई किन पठाए भनेर होला उहाँ रूँदै आउनुभएको थियो,’ उनले भने ।

उनी प्रहरीकहाँ पुगेको केही समयमै जानकी गाउपालिका–९ कै अमरावती सामुदायिक वनमा लास छ भनेर प्रहरीकहाँ खबर आयो । सोही वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो । त्यहाँ मृतक दासको शव फेला प¥यो। अरूणले लगाएको सर्ट खोलेर घाँटी बाँधेको, हात रूख पछाडि रूमालले बाँधेको अवस्थामा उनको टाउको छिनालेर घुँडानेर राखिएको थियो । श्रीमतीले त्यो अरूणकै शव हो भनेर चिनिन् ।

अनुसन्धानबाट खुलेको कुरा

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी आफैं कुकुरसहितको टोली लिएर पुगे ।

मृतक दासका २ छोराछोरी छन् । उनका आमाबुबा कामका लागि भारत गएका थिए । उनी, श्रीमती र भाउजु घरमा थिए ।


उनी पनि भारत जाने–आउने गर्थे । स्थानीयका अनुसार दास १८ दिन अघिमात्रै भारतबाट नेपाल फर्केका हुन् । गाउँमा हुँदा ज्यालामा वरपरका मान्छेका बारी खन्ने, ब्लक बनाउनेजस्ता काम गर्थे ।

स्थानीयले आमाबुबा आउन्जेलसम्म शव उठाउन नदिएपछि प्रहरीले घटनास्थलको काम रोकेको थियो । शनिबार रातभर घटनास्थलको सुरक्षा गरी बसेको प्रहरीले आइतबार परिवारको उपस्थितिमा घटनास्थलको काम गरिरहेको छ ।

‘मृतक कहाँ गएका थिए, साथीहरू को–को थिए भनेर अनुसन्धान भइरहेको छ,’ कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले भने । उनले केही मानिसहरूको नाम आएको र उनीहरूको खोजी भइरहेको बताए ।

‘घटना कसरी भएको भनेर एउटा फिगर आएको छ, मान्छे पक्राउ गरेर पुष्टि भएपछि सार्वजनिक हुनेछ,’ उनले भने । अहिलेसम्मको अनुसन्धानमा मृतक दासको आपराधिक पृष्ठभूमि देखिएको छैन ।

‘उनको कसैसँगै अपराधिक सम्बन्ध वा लागुऔषधमा संलग्नता छ÷छैन अनुसन्धानपछि थाहा हुनेछ,’ डिएसपी जोशीले भने ।

प्रहरीले दासकी श्रीमतीबाट प्राप्त गरेको अडियोसँग सम्बन्धित खोजी पनि सुरू गरेको छ। त्यो अडियो कसले पठायो भन्ने प्रहरीले खुलाएको छैन ।

अडियोमा बाकसको कुरा छ, बाकस के रहेछ भन्ने खुलेको छैन । साथै समूहमा लडाइँ, झगडा भएजस्तो अडियो सुन्दा देखिन्छ । घटनास्थलमा चुरोटका ठुटा पनि फेला परेका प्रहरीको भनाइ छ ।

कैलालीको लम्कीका भूपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी हत्या भएको एक महिना नबित्दै दासको विभत्स हत्या भएपछि लम्की र आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।

दासको हत्या किन भयो, यसमा को–को संलग्न छन् अनि किन लम्की क्षेत्रमा आपराधिक घटना लगातार भइरहेका छन् भन्दै स्थानीयले प्रहरी प्रशासनतिर औंला उठाउन थालेका छन् ।

कैलालीको पूर्वी क्षेत्रमा अपराधिक गतिविधि, लागुऔषध कारोबारीको अखडा बन्न थालेको स्थानीयहरू बताउँछन् । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्ष बर्मालाई स्थानीयको सम्मान

४ पुष २०७८, आईतवार १९:१६
नेपालगञ्ज : वडाको विकास निर्माणमा वडा अध्यक्ष भन्दा पनि माथि उठेर काम गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मालाई सम्मान गरिएको छ । वडाको तेजनगर टोलबासीले विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष वर्मालाई सम्मान गरेका हुन । चालु […]

सम्बन्धित