५ जनाका हत्याआरोपीलाई बाँके अदालतद्वारा सफाई

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १७:१४
 

नेपालगञ्ज : १६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ ।

नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको हो ।


गएको कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिए । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहे पनि शङ्काको सुविधा अभियुक्तले पाउने भन्दै सफाइ दिएको हो ।

२०६२ साल फागुन ११ गते नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुवा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । घटना भएको दुई वर्षपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै मृतक दीपक हेमकरकै ससुरा किशोरीलाल सोनी र श्रीमती दीपा सोनीविरुद्ध अभियोगपत्र दायर गरेको थियो । दीपा भने फरारको सूचिमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा आगलागी, ३ घर जलेर नष्ट

२४ मंसिर २०७८, शुक्रबार १७:१४
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५, जोरपानी गाउँमा आगलागी भएको छ । दिउँसो ढाई बजे शुरु भएको आगलागीबाट तीन वटा घर जलेका छन् । सुरक्षाकर्मी, स्थानीयवासी र नेपालगञ्जबाट गएको ३ वटा दमकलले बेलुका ५ बजे आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको बाँकेका […]