नेपालगञ्ज : धार्मिक महत्वले अतिनै महत्वपूर्ण मानिने कल्पबृक्ष नेपालगञ्जस्थित हडियाबाबा आश्रममा रोपण गरिएको छ । हरित अभियन्ता हेमन्तराज काफ्लेले उक्त कल्पबृक्ष हडियाबाबा आश्रमलाई उपलब्ध गराएका हुन् ।
सल्यानको छायाक्षेत्र शक्तिपीठका महन्त उमेश गिरि महाराजको अनुरोधमा काफ्लेले कल्पबृक्षको विरुवा उपहार दिएको बताए । वैदिक धर्मानुसार हिन्दु धर्मावलम्बीहरुको वेद र पुराणमा कल्पबृक्ष स्वर्गको विशेष रुख भएको उल्लेख । पौराणिक धर्मशास्त्र र हिन्दु मान्यताअनुसार कल्पबृक्षको तल बसेर ध्यान गर्ने व्यक्तिले चाहेअनुसारको वर प्राप्त गर्ने विश्वास रहिआएको छ ।
हरित अभियन्ता काफ्लेका अनुसार कल्पबृक्ष धार्मिकस्थलहरु मध्ये हडियाबाबा आश्रममा हालसम्म चौथो स्थानको रुपमा रोपण गरिएको हो । बृक्षारोपणमा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य, बेचनलाल गुप्ता, अधिवक्त विश्वजीत तिवारी, पुजारी सोम गिरी महाराज, समाजसेवी माधवराम वर्मालगायतको उपस्थिती रहेको थियो ।