संखुवासभा हत्याकाण्ड : पक्राउ परेका चारजना सार्वजनिक

सदरलाइन संवाददाता ४ आश्विन २०७८, सोमबार १३:४४
 

संखुवासभा : मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।


गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटना स्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारै जना माथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलका मेयरमाथि मुक्का प्रहार

४ आश्विन २०७८, सोमबार १३:४४
नेपालगञ्ज : पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनका लागि गएका मेयर सुवेदीलाई एक युवाले मुक्का हानेका हुन् । पहिरो पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै ती युवाले मेयरलाई मुक्का हानेका हुन् […]

ताजा अपडेट