काठमाण्डौं : नेपाल–भारत मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दुबै टोलीले एक–एक गोल गरे पछि बराबरीमा सकिएको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमा भारतले गोल फर्काएको थियो ।
नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए । भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन् । सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासंघ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको थियो ।
नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ ।
नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल भएको हो । भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेल भएको थियो । उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।
नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ ।
फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन् । भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ ।
नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।