नारायणपुर–अगैया सडक स्तरोन्नति हुने

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १५:२७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने १६ सय मिटर सडकको चौडा र कालोपत्रे गरी स्तरोन्नतिको काम शुरु हुन लागेको बताइन् । हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्जदेखि दाङको कालाकाटे जोड्ने सडकखण्ड अन्तर्गत राप्तीसोनारीको नारायणपुरसम्म सडक पूर्णरुपमा बनिसकेको र त्यहाँबाट १६ सय मिटर पूर्व उत्तरतर्फको पूर्वपश्चिम राजमार्गको अगैयासम्मको सडकको स्तरोन्नति गरी सडकलाई चौडा र कालोपत्रे गरिने पक्का भएको उनले जानकारी दिइन् । नारायणपुरबाट दक्षिण कुम्भर भुवरभवानी मन्दिर छेउँहुँदै हुलाकी राजमार्ग दाङको कालाकाटे निस्किने उनले बताइन् ।

नारायणपुरबाट अगैयासम्म पुग्ने १६ सय मिटरको सडक अत्यन्तै जीर्ण, पुरानो र सानो भएका कारण स्थानीयले आफूसँग धेरैपटक गुनासो गरेको र आफूले पहल गरी सङ्घीय सरकार र सडक डिभिजन कार्यालयलाई अनुरोध गरेपछि सो सडक डिभिजन कार्यालयले चौडा र कालोपत्रे गरी स्तरोन्नति गर्ने सहमति भएको उनले बताइन् ।

“हुलाकी राजमार्गले नारायणपुरसम्मको सडक बनाएको छ, त्यहाँबाट हुलाकी राजमार्ग दाङ जानका लागि दक्षिणतर्फ मोडिन्छ,” सांसद नमुनाले भनिन् , “त्यहाँबाट अगैयासम्म जाने १६ सय मिटर सडक सानो, पुरानो र जीर्ण अवस्थामा छ, स्थानीय जनता र सवारी साधनले सास्ती पाइरहेका छन्, जनताको गुनासो र मेरो पहलबाट सङ्घीय सरकार र सडक डिभिजनलाई अनुरोध गरेपछि उक्त सडक बन्ने पक्का भएको हो ।”

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीला भण्डारीले नारायणपुर–अगैया खण्डको सडक स्तरोन्नति हुने बताइन् । केहिदिन अघि बाँके आउनुभएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिनुभएको उनले जानकारी दिइन् ।


“सो सडक स्तरोन्नति गर्नका लागि मन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ, मैले सर्वे गर्नका लागि टोली पनि पठाइसकेको छु, सर्वेपछि डिपिआर तयार गर्छौँ,” उनले भनिन् , “सबै प्रक्रिया पुरा भएपछि सडकको स्तरोन्नतिको कार्य शुरु हुन्छ ।”

नारायणपुरदेखि अगैयासम्मको सो १६ सय मिटरको सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उनले जानकारी दिइन् । “सिक्टा पुलसम्म पुग्न र सिक्टा पुलपारी गरेर २–३ सय मिटर अल्लि कन्जस्टेड छ, केही बस्ती छ,” उनले भनिन् , “ती बस्तीलाई कानुनी रूपमा प्रक्रिया पुराई व्यवस्थापन गर्नका लागि गाउँपालिकालाई समन्वय गर्न अनुरोध गरेका छौँ ।”

नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नारायणपुरसम्म बनेको हुलाकी राजमार्गसम्म आरामसँग पुग्ने सवारीसाधनहरू त्यहाँबाट अगैयासम्म पुग्न भने कष्ट भोग्दै आएका छन् । अब उक्त सडक खण्ड निर्माण हुने भएपछि थप सहज हुने अनुमान गरिएको छ ।

नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ । दुरी पनि छोटो पर्ने र बाँके राष्ट्रिय निकुञ्जको केही भागमा सवारी साधनलाई टाइमकार्ड लागु भएसँगै सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए, पार्टी भित्रैकै हरिया सर्प सलबलाए :  एमाले अध्यक्ष ओली

१९ मंसिर २०८०, मंगलवार १५:२७
नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएको दाबी गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार बिहान सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन । उनले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको र एमालेको पालामा देशमा […]