नेपालगञ्ज : कोरोना कहरको बेलामा आईशोलेशन निर्माण गर्न, विभिन्न उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने दातालाई नेपालगन्जको भेरी अस्पतालले सम्मान गरेको छ ।
अस्पतालले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कोरोना महामारीको बेलामा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्था गरी ७८ जनालाई सम्मान गरेको हो ।
अस्पतालले शनिबार नेपालगन्जमा सम्मान कार्यक्रमको आयोजना गर्दै कोरोना संक्रमितहरुको उपचार गर्नका लागि अस्पतालमा थप कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरेको हो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको सो कार्याक्रममा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले महामारीको बेलामा मानविय जीवन जोगाउनको लागि अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री उपलब्ध गराएर, वार्ड निर्माण तथा आईपर्ने विभिन्न समस्या समाधानको लागि सहयोग गरेकोले नै दोस्रो भेरियन्टमा सजिलै सामना गर्न सकिएको बताए ।
कोरोना कहरको बेलामा भेरी अस्पतालमा उपचारको लागि आउने संक्रमितलाई उपचारको लागि विभिन्न दाताहरुबाट उपलब्ध गराईएको स्वास्थ्य सामाग्री प्रयोग गरिएको थियो । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, कोभिड वार्ड निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलगायतले विभिन्न दाताहरुलाई सम्मान गरेका थिए