बैतडी : डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन् । वडा नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले बताएको छ ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले जन्मिना साथ शिशुको घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले आइतबार सोही ठाउँमा शिशुको घाँटी निमोठेर हत्या गरेको हो ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए । उनी प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान गर्न अदालतमा पेश गर्न तयारी भएको हो ।
माधवीका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए । उनी उतै बेपत्ता भएको प्रहरीले जनाएको छ । माधवीका १३ बर्षीय छोरा छन् । उनी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन्। घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको प्रहरी निरीक्षक शाहीले बताए । अवैध सम्बन्धबाट गर्भवती भएपछि किशोरले माधवीसँग विवाह गर्ने सहमति गरे पनि ती किशोर हाल फरार रहेका छन् ।