नेपालगञ्ज : भारतीय सुरक्षा बल एसएसवीले लागुऔषध विरुद्धको अभियानलाई सशक्त पारेको छ । सीमाक्षेत्रमा लागु औषधको कारोवार बढेपछि त्यसलाई निष्तेज पार्न एसएसवीले कडाइ गरेको हो ।
एसएसवी असिस्टेन्ट कमाण्डर सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध स्मेकसहित तीन जनालाई पक्राउ गरेको छ ।
सीमानाकामा रहेको एउटा सार्वजनिक शौचालयमा स्मेकको कारोवार गरिरहेका उनीहरु एसएसवीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा रुपैडिया घसियारन टोलका जुनेद, शेबु र कोहलपुरका रनबिरबहादुर सोनी रहेको एसएसवीले जनाएको छ ।
उनीहरुको साथबाट २४१ ग्राम स्मेक बरामद भएको छ । यसको अन्तराष्ट्रिय मूल्य भारु २ करोड बराबर रहेको एसएसवीको भनाइ छ । यसअघिपनि एसएसवी र रुपैडिया थानाको संयुक्त पहलमा प्रतिबन्धित स्मेक बरामद भएको थियो ।
एसएसवीले पक्राउ परेका तीन जनाको साथबाट ६९ हजार ५० रुपैयाँ नेपाली, भारु ५ हजार ५ सय ५० रुपैयाँ र तीनवटा विभिन्न कम्पनीका मोवाइल समेत बरामद गरेको छ । उक्त स्मेक नेपाल ल्याउने तयारी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।