एसएसबीले तुइन काटेको घटनाप्रति प्रशासनको प्रतिक्रिया

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १७:०२
 

धनगढी : दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया दिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको हो ।

‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना–समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो घटना अनुसन्धान–छानविनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन सूचना–समाचार प्रकाशन नगरिदिन अनुरोध छ ।’


प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए । उक्त खबर प्राप्त भएलगत्तै गृह मन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा बेपत्ता दम्पतीको अवस्था अझै अज्ञात

१६ श्रावण २०७८, शनिबार १७:०२
धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपका टुक्राटाक्री भेटिएका छन् । तर, सोही जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था भने अझै अज्ञात छ । जिप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला नपरेको प्रहरीले जनाएको छ । एकै परिवारका ५ जना […]