महिलाको हत्या आरोपमा दुई नाबालिग पक्राउ

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १४:३४
 

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ ।

बिहीवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर त्रिवेणी गाउँपालिका–४ का १५ र ११ वर्षका दुई जना नाबालकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गएको सोमवार राति मनकलाको त्रिवेणी गाउँपालिका–३ मा मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैँसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म घर नफर्केपछि उहाँको खोजी भएको थियो ।मनकलाको शव गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल भेटिएको थियो ।


बुधवार तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी दुई जनालाई हत्यामा संलग्न भएको बताएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा नाबालकद्वयले धारिलो हतियार (खुर्पा) प्रहार गरी मनकलाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

उनीहरुले मनकलाको हत्या गरी मकै बारीमा फालेर मृतकको नाक, कानमा भएका सुनका गरगहनासमेत लिएको डीएसपी श्रेष्ठले बताए । १५ वर्षीय बालकको घरबाट सुनको कानबाली दुई थान, मुन्द्री दुई थान, नाकको फुली एक थान र हँसिया (खुर्पा) एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १८ हजार बढीले लगाए कोरोनाविरुद्धको दुबै मात्रा

१४ श्रावण २०७८, बिहीबार १४:३४
नेपालगञ्ज : बाँकेमा हालसम्म १८ हजार ७ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन ४.९ प्रतिशतले हुन आउँछ । भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपको दुबै डोज लगाउनेको संख्या हालसम्म १८ हजार ७ सय ४ पुगेको हो । दुबैको पहिलो डोज लगाउनेको संख्या भने ५४ हजार ४ सय […]