नेपालगञ्ज : ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व आयने शुक्रबारसम्म मनाईने प्रचलन छ । रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ ।
नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा बुधबार बिहान सवा ६ बजे र दारुल उलुम बरकातिया माविको प्राङगण वा अन्य मस्जिदमा सावा ७ बजे बकराईद ईद–उल–अजाहको सामुहिक नमाज पढेर बकर ईद मनाउन सुरु गरिएको हो । कोरोना संक्रमणको कारण ईदगाह मस्जिदमा थोरै संख्यामा उपस्थित भएर संयुक्त नमाज पढिएको थियो ।
ईदगाहमा सामुहिक नमाज पढे लगत्तै सबै ईस्लाम धर्मावालम्बीहरुले कुर्वानी (पशुबली) को लागि नजिकको सामुहिक स्थान मस्जिद वा आ–आफ्नो घरमा दिएका थिए । बकरईदमा कुर्वानी (पशुबली) दिने चलन भएकोले नेपालगञ्जका मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँँगा जस्ता जानवरको जोहो गरि सकेका छन् ।
भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा १ जनाको मात्र कुर्वानी हुने चलन छ भने राँँगा भैसी, उट जस्ता ठूला जनावरमा ७ जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको ईस्लामा धर्मगुरु समेत रहनुभएका मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह–संयोजक समेत रहेका मुस्लिम धर्मगुरु मञ्जरीले कुर्वानी गरिएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको बताए ।
सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरु जसको साथमा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो वराबरको धनसम्पत्ति छ र कुनै पनि ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकरईदमा कुर्वानी गराउनु पर्ने प्रावधान अनुसार कुर्वानी गराईने धार्मिक चलन रहेको छ ।
फोटो : रुद्र सुवेदी