दार्चुला : वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन् ।
गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको घट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा परेर ज्यान गएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबीच नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रका आधा दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । प्रहरीको टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ ।