काठमाण्डौ : देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति पनि देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।
ती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।