नेपालगञ्ज : नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाको नेतृत्वमा उपलब्ध पदाधिकारीसहतिको टोलीले सो माग गर्दै ज्ञापन बुझाएको हो ।
बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेस निस्कर्षसहित ज्ञापन पत्र बुझाईएको सभापति कोईरालाले बताईन ।
उनले बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको आरोप लगाउदै जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधि र दक्ष जनशक्तिसहितको आइसोलेसन स्थापना गर्न अनुरोध गरिन ।
ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले स्वास्थ्य संकटकाल नेपाल सरकारले घोषणा गर्ने भएको कारण आफुलाई प्राप्त भएको ज्ञापन पत्र तत्काल पठाईदिने र जिल्लामा कोभिड संक्रमण बढ्न नदिनको लागि सक्दो पहल गर्ने बताए ।
सो अवसरमा नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेल, जिल्ला सदस्य मेघराज ओली, सुधान्शु कोईराला, क्षत्र नं. २ का अध्यक्ष रमेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।