काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बुधवार संसदीय दलको बैठक बोलाएको छ । मंगलवार केन्द्रीय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले बुधवार संसदीय दलको बैठक डाकेको हो ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ ।


यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।
प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको सोमवार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताईएपनि तीमध्ये केही सांसदहरु मंगलवारको ओली समुहको बैठकमा पनि सहभागि भएका थिए ।