शनिवार देवी लक्ष्मीको पूजा गरिँदै

सदरलाइन संवाददाता २९ कार्तिक २०७७, शनिबार ११:०२
 

नेपालगञ्ज : यमपञ्चकको तेस्रो दिन शनिवार कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

शनिवार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि शनिवार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।


पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

Next Post

सल्यान श्रीनगर बजार पूर्णरुपमा शील

२९ कार्तिक २०७७, शनिबार ११:०२
सल्यान : सल्यानको श्रीनगर बजार ७ दिनका लागि पूर्णरुपमा शील गरिएको छ । श्रीनर बजारबाट ४६ जनाको स्वाब संकलन गरी पिसीआर जाँच गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएपछि श्रीनगर बजार ७ दिनका लागि शील गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिवर बसेको जिल्ला सुरक्षा समिति सल्यानको बैठकले शनिबारदेखि […]

सम्बन्धित