बुधवार विवाह पञ्चमी हर्षोल्लासका साथ मनाईंदै

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १२:५३
 

नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व बुधवार श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाईंदै छ ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे ।


शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पु¥याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित नेपालगञ्जका सुरक्षा गार्ड पक्राउ

२२ मंसिर २०७८, बुधबार १२:५३
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ परेका छन् । वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडीबाट सुरक्षा गार्ड कृष्ण जिसी बुधवार विहान पक्राउ परेका हुन् । जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । भुपु आर्मी जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका […]

सम्बन्धित