यात्रु लिन रुपईडिहानै पुग्छन् नेपाली सवारी साधन

२३ जेष्ठ २०७७, शुक्रबार १३:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सार्वजनिक यातायातका नेपाली सवारी साधन सीमावर्ती भारतीय बजार रुपईडिहासम्म पुग्ने गरेको खुलासा भएको छ । सरकारले सीमानाका शील गरी पैदलसमेत ओहोरदोहोर गर्न नदिने गरेको निर्णयको बेवास्ता गर्दै नेपाली सवारी साधन रुपईडिहासम्म पुग्ने गरेको बताइएको छ ।
भारतबाट फर्किने नेपालीलाई लिन त्यस्ता सवारी साधन भारतीय बजार रुपईडिहासम्म जाने गरेको सीमावर्ती क्षेत्रका बासिन्दाको भनाई छ । सरकारले भारतमा रहेका नेपालीलाई ल्याउने आधिकारिक निर्णय नगरे पनि सरकारी निर्णय लत्याउँदै सार्वजनिक यातायातका नेपाली नम्बरका सवारी साधन भारत जाने गरेको पाइएको हो ।
स्थानीय तहको सिफारिसमा भारतबाट आएकालाई सम्बन्धित जिल्लामा पठाउने गरिए पनि फर्किने नेपालीलाई लिन अहिले यातायात ब्यवसायीले आफुखुशी रुपईडिहा पुग्ने गरेका छन् । आफुखुशी लैजान थालेपछि नेपाल–भारत जमुनाह नाकामा सवारी साधनको लामो लाइन लाग्ने गरेको छ ।
एकै दिन डेढ सय भन्दा धेरै सवारी साधन नेपालगञ्ज नाकाको जमुनाहा पुग्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए । रिजालका अनुसार भारतबाट फर्किने नेपालीलाई लिन बस, माइक्रो, फोर्स माइक्रो, जीपलगायतका सवारी साधन रुपईडिहा पुग्ने गरेका छन् । सकभर एउटा जिल्लाकालाई एउटा सवारी साधनमा बसाल्ने गरिन्छ ।
जमुनाहा नाका पुगेका सवारी साधन अवेर रातसम्म पालो कुरेर बस्ने गरेको उनले बताए । भारतबाट फर्किने नेपालीको संख्या कम भएपनि लिन आउने सवारी साधन दिनदिनै बढ्दै गएको रिजालले जानकारी दिए ।

Next Post

कोरोना जीतेर बाँकेका १३ जना डिस्चार्ज

२३ जेष्ठ २०७७, शुक्रबार १३:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके १३ जनाले कोरोना जितेका छन् । नेपालगञ्ज खजुरोडस्थित लायन्स डेन्टल अस्पतालमा रहेका नरैनापुर गाउँपालिकाका १२ जना र खजुरास्थित क्यान्सर अस्पतालमा रहेका नेपालगञ्जका १ जनालाई शुक्रवार डिस्चार्ज गरिएको हो । उनीहरुको दोस्रो पटक पिसिआर परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिृकत एव कोरोना […]