धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुको अपील

११ बैशाख २०७७, बिहीबार १७:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगिन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन् ।
रमजानको पूर्वसन्ध्यामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढने गरि व्यवस्था मिलाउन सार्वजनिक अपील गरेका हुन् । सम्वाद समूह बाँकेको सहजीकरणमा बिहीवार नेपालगञ्जमा गरिएको मुस्लिम धर्मगुरु र अगुवाबीचको अन्तरक्रियात्मक सम्वादपछि उनीहरुले संयुक्त अपील गरेका हुन् ।
कोरोनाको जोखिमपूर्ण एवं विषम परिस्थितीबीच केही दिनमै रमजान शुुुुुरु हँुदैछ । रमजानका क्रममा हुनसक्ने पारिवारिक भेटघाटलाई पनि सीमा दुरी कायम गर्दै सचेतना अपनाउनसमेत उनीहरुले अनुरोध गरेका छन् ।
मुस्लिम समुदायका केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएसँगै समुदाय लक्षित सार्वजनिक टिका टिप्पणीप्रति पनि सचेत रहन आव्हान गर्दै उनीहरुले रोग कुनै एक धर्म र समुदायसँग जोडिएको विषय नभएको जिकिर गरे । समुदायमा रहेका सम्भावित कोरोना संक्रमित, आशंकित व्यक्तिहरुको पनि पहिचान गरि स्वास्थ्य परीक्षण, उपचार गर्नगराउन आहवान गरिएको छ ।
केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष मौलाना अव्दुल जव्वार मञ्जरी, जामा मस्जिद नेपालगञ्जका मुुफ्ती कैफुल वरा खाँ मिसवाही, मदरसा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मौलाना मन्सुर अहमद, जामा मस्जिदका महासचिव इरफान सिद्दिकी, संविधान सभाका सदस्य भोला सिद्दिकी, मदरसा गौसियाका सचिव मो. हारुन र मुस्लिम संगठन नेपालका सहसंयोजक अतहर हुसेन फारुकीद्वारा हस्ताक्षरित अपीलमा कोरोना नियन्त्रणमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न र धार्मिक तथा सामाजिक सद्भाव सुदृढ गर्न सबैले आआफनो क्षेत्रबाट संयमता अपनाउन अनुरोध गरिएको छ ।


Next Post

कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोगी मन जोडिने क्रम जारी

११ बैशाख २०७७, बिहीबार १७:३४
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ रिलिफ फण्ड बाँकेसंग जोडिने सहयोगी मनहरु थपिने क्रम जारी छ । पछिल्लो समय नेपालगञ्जका युवा व्यावसायी नबिन खड्का सो रिलिफ फण्डमा जोडिन पुगेका हुन । नेपालगञ्जमा योगेश मेसिनरीका नामले आफ्नो व्यावसाय सञ्चालन गर्दै आएका खड्काले सो रिलिफ फण्डका संयोजक तथा प्रदेश नं. ५ का माननिय साँसद […]